एमालेले तोक्यो वडा र पालिका अधिवेशनको मिति

काठमाडौं, २२ असोज । नेकपा (एमाले)ले वडा र पालिका अधिवेशनको मिति तय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको हो।

त्यस्तै, एमालेले मंसिरको पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। राष्ट्रिय भेलामा पार्टीका प्रदेश तथा जिल्ला पदाधिकारीसँगै संघ, प्रदेश र पालिकाका जनप्रतिनिधि सहभागी हुने एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो।

वडा र नगर अधिवेशनपछि प्रदेशस्तरीय भेला गर्ने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै, १३ जिल्लामा रिक्त रहेका जिल्ला अध्यक्षको पदमा स्थानीय कमिटीले निर्णय गरी केन्द्रमा नाम पठाउन बैठकले निर्देशन दिएको छ।

स्थायी कमिटीको बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भट्टले जानकारी दिनुभयो।

प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार  १९ : ३५  बजे