लुटेरा गिरोहमाथि प्रहरीको ‘एक्सन’, इन्काउन्टर गरी २७ मुद्दाका आरोपीसहित तीन पक्राउ

काठमाडौं २२ असोज । काठमाडौं उपत्यकामा शृंखलाबद्ध रूपमा चोरी तथा लुटपाट गर्दै आएको समूहका मुख्य नाइकेसहित तीन जना प्रहरीले इन्काउन्टर गरी पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेको कमान्डमा खटिएको प्रहरी टोलीले बुधबार राति काँडाघारी क्षेत्रमा अप्रेसन चलाएर लुटेरा समूहका मुख्य नाइके आर्यन माझीसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार माझी विभिन्न समयमा काठमाडौं, भक्तपुर र बनेपाका क्षेत्रमा सर्वसाधारणलाई बाटोमै घेरेर सिक्री, नगदलगायतका सामान लुटपाट गर्ने घटनामा संलग्न रहेको खुलेको छ। उनीविरुद्ध मात्रै २७ वटा डाँका तथा चोरीसम्बन्धी मुद्दा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

माझीसँगै प्रहरीले लुटपाटमा प्रयोग भएको मोटरसाइकल चालक मनोज कुमार मोक्तान र मोटरसाइकलको पछाडि बसेर लुटपाटमा संलग्न राकेश थिङलाई पनि पक्राउ गरेको छ । प्रहरीका अनुसार कोटेश्वरस्थित जडिबुटी पुलमुनि लुटेरा समूहको गतिविधि देखिएपछि टोलीले नियन्त्रणमा लिन खोजेको थियो ।

त्यस क्रममा आरोपितहरूले प्रहरीमाथि नै खुकुरी प्रहार गरेपछि आत्मरक्षाका क्रममा गोली चलाइएको एसएसपी घिमिरेले बताउनुभयो । प्रहरीले उनीहरूलाई घुँडामुनि गोली प्रहार गरी नियन्त्रणमा लिएको जनाएको छ । घटनामा एक प्रहरीसमेत घाइते भएका छन् ।

घाइते प्रहरी र पक्राउ परेका आरोपितहरूको उपचार अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरको नेतृत्व सम्हालेपछि एसएसपी घिमिरेको टोलीले फरार अभियुक्त, लुटपाट तथा गुण्डागर्दीमा संलग्न समूहविरुद्ध निगरानी र खोजी अभियानलाई तीव्र बनाउँदै आएको छ ।

प्रहरीले पक्राउ परेका तीनै जनाको विगतका आपराधिक गतिविधि तथा उनीहरू संलग्न अन्य घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार  १५ : २८  बजे