त्रिपुरेश्वरमा बसभित्रै शरीरमा आगो लगाएका चालकको मृत्यु

काठमाडौं, ६ असोज । काठमाडौंको त्रिपुरेश्वरमा बसभित्रै शरीरमा आगो लगाएका चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

सोमबार मध्यान्ह ऋद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा गम्भीर घाइते भएका चालकको कीर्तिपुर अस्पतालको बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताउनुभएको छ ।

उहाँका अनुसार मृतकको नाम र ठेगाना भने खुल्न सकेको छैन । आगलागीमा चालकको शरीरको ठूलो भाग जलेपछि सुरक्षाकर्मी र स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका थिए ।

यसअघि चालकको साथमा भेटिएको लाइसेन्सका आधारमा प्रहरीले उनको नाम दावा लामा भएको बताएको थियो । तर, लाइसेन्समा उल्लेखित दावा लामाले आफू सकुशल रहेको र उक्त लाइसेन्स आफ्नो भएको बताएपछि प्रहरीले मृतकले लाइसेन्स दुरुपयोग गरेको हुनसक्ने आशंका गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार  ०७ : ५१  बजे