काठमाडौं, ५ असोज । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको निशानामा परी आगलागीबाट ध्वस्त भएको टंगालस्थित भाटभटेनी सुपर मार्केट पुनः सञ्चालनमा आएको छ । नयाँ संरचनासहित स्टोर पुनः सञ्चालनमा ल्याइएपछि भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले विगतको दुःखद घटनालाई बिर्सेर आफू नयाँ सिराबाट अघि बढेको बताउनुभएको छ ।
स्टोर पुनः सञ्चालनको अवसरमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष गुरुङले भाटभटेनी पुनर्निर्माणका क्रममा आफूले निकै कठिन परिस्थिति सामना गर्नुपरेको स्मरण गर्नुभयो । गम्भीर स्वास्थ्य समस्याका बाबजुद पनि कर्मचारी, बैंक तथा वित्तीय संस्था र व्यवसायीप्रतिको दायित्व सम्झेर आफूले पुनर्निर्माणको काम अघि बढाएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार आफूलाई ‘पीआरसीए’ नामक रोगको निदान भएको थियो । त्यसक्रममा हेमोग्लोबिनको मात्रा घटेर ४ सम्म पुगेको उहाँले जानकारी दिनुभयो । ‘म झन्डै एब्सेन्ट भएको थिएँ, तर मेरो ज्यानको बाजी राखेर यसलाई उठाउन खोजेको हो,’ उहाँले भन्नुभयो, ‘मसँग हजारौँ भाइबहिनी आबद्ध हुनुहुन्छ । ममाथि अर्बौं लगानी गर्ने बैंक छन् । मलाई विश्वास गरेर सामान दिने व्यवसायी हुनुहुन्छ । उहाँहरूलाई मैले धोका दिनु भएन नि !’
नेपालीहरू हिम्मतिला हुने र आफू गोर्खाली भएकाले जस्तोसुकै कठिन परिस्थितिमा पनि अघि बढ्ने साहस रहेको उहाँले बताउनुभयो । पुनर्निर्माणपछि आफ्नो स्वास्थ्यमा समेत तीव्र सुधार आएको उहाँको भनाइ छ । गत वर्ष २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा आगलागीबाट ध्वस्त भएका भाटभटेनीका १२ स्टोरमध्ये टंगाल स्टोर पुनः सञ्चालनमा आउने १०औँ स्टोर भएको बताइएको छ ।
‘भाटभटेनी मेरो मात्रै होइन, नेपालको सम्पत्ति हो’
नयाँ भवन तथा संरचनासहित स्टोर उद्घाटन गर्दै अध्यक्ष गुरुङले भाटभटेनीलाई आफ्नो व्यक्तिगत सम्पत्तिका रूपमा मात्र हेर्न नहुने बताउनुभयो । उहाँले यसलाई हजारौँ नेपालीको रोजगारी र राज्यलाई ठूलो मात्रामा राजस्व योगदान गर्ने राष्ट्रिय सम्पत्तिका रूपमा बुझ्न आग्रह गर्नुभयो ।
‘तिमीहरूको देश कस्तो हो, आफ्नो सम्पत्ति आफैँले आगो लगाउने भनेर विदेशका साथीहरूले पनि सोध्छन्,’ उहाँले भन्नुभयो, ‘यो भाटभटेनी मेरो मात्रै होइन, हामी सबैको हो । यो नेपालको सम्पत्ति हो ।’ भाटभटेनीले हजारौँ नेपालीलाई रोजगारी प्रदान गरिरहेको र राज्यलाई ठूलो मात्रामा कर तिरिरहेको उहाँले स्मरण गराउनुभयो ।
‘हामीले आर्जन गरेको पैसाको ३० प्रतिशत त कर नै तिर्छौं । प्रमोटरले डिभिडेन्ड लिँदा थप ५ प्रतिशत ट्याक्स दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसकारण यो नेपालकै सम्पत्ति हो, देशको सम्पत्ति जलाउनु भएन नि !’ ‘म राजनीतिक व्यक्ति होइन, श्रीमतीको गहना बेचेर व्यवसाय सुरु गरेको हुँ’ आफ्नो व्यवसायलाई विभिन्न राजनीतिक दलका नेतासँग जोडेर फैलाइएका चर्चाबारे पनि अध्यक्ष गुरुङले स्पष्ट पार्नुभएको छ ।
उहाँले आफू कुनै राजनीतिक व्यक्ति नभएको र भाटभटेनी आफ्नो तथा परिवारको लामो मेहनतको परिणाम भएको बताउनुभयो । ‘यहाँ अनेक अफवाह फैलिन्छन् । यो न केपी ओलीको हो, न प्रचण्डको हो, न अरू कसैको हो । यो मीनबहादुरको मेहनतको सिर्जना हो,’ उहाँले भन्नुभयो, ‘आजभन्दा ४२ वर्ष अगाडि १२० स्क्वायर फुटको भाडाको कोठाबाट मेरी श्रीमतीको गहना ३५ हजार रुपैयाँमा बेचेर सुरु गरेको व्यवसाय हो यो । यो त्यत्तिकै भएको होइन । यसमा हाम्रो रगत, पसिना र मेहनत छ ।’
आफ्नो अर्बौंको संरचना ध्वस्त भए पनि आफूले कसैप्रति आक्रोश नराखेको उहाँले बताउनुभयो । आगलागीबाट ध्वस्त संरचना पुनर्निर्माण गर्नु नयाँ भवन निर्माण गर्नुभन्दा पनि कठिन भएको उहाँको भनाइ छ । ‘जलाउने काम गलत भयो, तर म कसैलाई दोष दिनेवाला छैन । जुन घटना घट्यो, त्यो नहुनुपर्ने थियो, भयो । त्यसलाई हामी सबैले बिर्सियौँ,’ उहाँले भन्नुभयो, ‘मैले त त्यहाँ एउटा बोर्ड नै राखेको छु– हे भगवान् ! मेरो देशमा अब उप्रान्त यस्तो नहोस् ।’
‘यही देशमा गर्ने हो, यही देशमा मर्ने हो’
देशमा व्यवसाय गर्ने वातावरण नभएको भन्दै निराश हुनेहरूलाई अध्यक्ष गुरुङले आतंकित नहुन आग्रह गर्नुभएको छ । निजी क्षेत्रले देशको विकासमा महत्वपूर्ण योगदान गर्ने भएकाले व्यवसायीहरूले आफ्नो कामलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो ।
‘आतंकित किन हुने ? यही देशमा गर्ने हो, यही देशमा मर्ने हो । देशको विकासमा निजी क्षेत्रको ठूलो हात हुन्छ,’ उहाँले भन्नुभयो, ‘मेरो देशमा अब उप्रान्त यस्तो घटना कहिल्यै नहोस् । सरकारले निजी क्षेत्र र देशको सम्पत्तिको संरक्षण गरिदिनुपर्छ ।’
सरकार र देशको नेतृत्व इमानदार भएर अघि बढ्न सके आगामी १५ वर्षमा नेपाल विकसित मुलुक बन्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो । सरकारले आगामी दिनमा देशको सम्पत्तिको संरक्षण गर्नेमा आफू आशावादी रहेको उल्लेख गर्दै उहाँले सरकारका तर्फबाट समेत आफूलाई सहयोग प्राप्त भइरहेको बताउनुभयो ।











प्रतिक्रिया