काठमाडौं, ५ असोज । काठमाडौंको त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा परी घाइते भएका चालकको अवस्था गम्भीर रहेको चिकित्सकले बताउनुभएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईका अनुसार आगलागीमा परी घाइते भएका चालकको शरीरको करिब ९० प्रतिशत भाग जलेको छ ।
‘उहाँको स्वास्थ्य अवस्था गम्भीर छ,’ डा. राईले भन्नुभयो। घाइते चालकलाई आज दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो । उहाँको अस्पतालमा उपचार भइरहेको छ । त्रिपुरेश्वरचोकस्थित बस स्टपमा आज मध्याह्न रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा भीषण आगलागी भएको थियो ।
आगलागीपछि चालक गम्भीर घाइते भएका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक आफैंले बसमा आगो लगाएको आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको कारण तथा आगलागी कसरी सुरु भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।











प्रतिक्रिया