एन्फा कोषाध्यक्ष र लेखापाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ४ असोज । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप चार दिन हिरासतमा राख्न जिल्ला अदालत ललितपुरले अनुमति दिएको छ ।

जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले जोशी र पाण्डेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीले जानकारी दिनुभएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार एन्फाको मुख्यालयमा छापा मारेर कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो ।

सीआईबीले उनीहरूमाथि अनुसन्धान अघि बढाउन अदालतबाट थप हिरासत अनुमति लिएको हो ।

प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार  १८ : २३  बजे