कांग्रेसको ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न

काठमाडौं, ४ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा वडा अधिवेशन सम्पन्न भएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पालगायत ४३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको हो ।

सम्पन्न वडा अधिवेशनबाट नयाँ वडा कार्यसमिति चयन हुनुका साथै क्षेत्रीय प्रतिनिधि पनि निर्वाचित भएका छन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार रसुवा, नुवाकोट र धादिङबाहेक बाँकी ३१ जिल्लाका वडा अधिवेशन असोज ४ गते पनि जारी रहनेछ ।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा निर्धारित कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढिरहेको जनाइएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०८३, आइतबार  ०७ : १८  बजे