बालेन सरकार ६ महिनामै ढाल्ने चेतावनी, भदौ आन्दोलनभन्दा सशक्त आन्दोलन गर्ने महेश बस्नेतको घोषणा

काठमाडौं, २९ जेठ । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई ६ महिनाभित्र ढाल्ने गरी सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभएको छ।

बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै बस्नेतले वर्तमान सरकारलाई लक्षित गर्दै भदौ २३ र २४ गतेको आन्दोलनभन्दा पनि सशक्त राजनीतिक अभियान सञ्चालन गर्ने बताएका हुन्।

उहाँले बालेन शाहलाई “राष्ट्रघाती अभिव्यक्ति दिने नेतृत्व” भन्दै आलोचना गर्दै वर्तमान सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभयो।

“अब हामी बालेन सरकारलाई ६ महिना पनि नटिक्ने गरी भदौ २३ र २४ गते भएको आन्दोलनभन्दा सशक्त आन्दोलन एमालेको नेतृत्वमा गर्न आवश्यक छ,” उहाँले भन्नुभयो।

बस्नेतले देशमा अहिले नेतृत्वहीन अवस्था रहेको र संसदमा प्रभावकारी आवाज कमजोर रहेको टिप्पणी पनि गर्नुभयो।

उहाँले पार्टीभित्र एकता मजबुत गर्दै सरकारविरुद्ध सशक्त राजनीतिक संघर्ष आवश्यक रहेकोमा जोड दिनुभएको छ।

प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार  १४ : २४  बजे