काठमाडौं, २७ जेठ ।काठमाडौँ उपत्यकामा गएरातिदेखि जारी वर्षा र बदलीको मौसम आज दिनभर कायम रहने सम्भावना रहेको छ। मौसमविद्हरूले उपत्यकामा थप वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार बुधबार बिहानसम्म काठमाडौँ उपत्यकाका अधिकांश क्षेत्रमा हल्का वर्षा भएको भए पनि बिहान करिब ७ बजेदेखि वर्षा केही समयका लागि रोकिएको छ। यद्यपि आकाशमा बादलको मात्रा कायमै रहेकाले पुनः वर्षा हुने सम्भावना रहेको उहाँले बताउनुभयो।
उहाँका अनुसार केही समयपछि उपत्यकाका विभिन्न स्थानमा क्षणिक तथा हल्का वर्षा हुन सक्छ। तत्काल ठूलो वर्षाको सम्भावना नदेखिए पनि अपराह्न वा साँझपख भने मध्यम खालको वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मौसमविद् दाहालले आज दिनभर मौसम पूर्ण रूपमा खुल्ने सम्भावना नरहेको उल्लेख गर्दै बीच–बीचमा घाम देखिए पनि पुनः बादल लाग्ने अवस्था रहने बताउनुभयो। यसले गर्दा उपत्यकावासीले दिनभर नै बदलीयुक्त मौसमको अनुभव गर्ने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम अवस्थाबारे विस्तृत अद्यावधिक विवरण बिहान ८ बजे सार्वजनिक गर्ने जनाएको छ। मौसमविद्हरूले विशेषगरी वर्षा हुने सम्भावना रहेका क्षेत्रमा यात्रा तथा दैनिक गतिविधि सञ्चालन गर्दा सावधानी अपनाउन सुझाव दिएका छन्।








प्रतिक्रिया