कावासोती, २७ जेठ । नवलपुर (नवलपरासी बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मंगलबार अपराह्न वर्षासहित आएको हुरीले १७ वटा घर र दुई वटा गोठमा क्षति पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार हुरीका कारण विभिन्न घरका टिनका छाना उडेका छन् भने केही घरमा रुखका हाँगा खस्दा क्षति पुगेको छ। केही कच्ची घरका पर्खाल चर्किएका छन् भने एक घरको ब्लकको पर्खालसमेत भत्किएको छ।
प्रहरीका अनुसार भोजबहादुर खनगाहा, मोतिराम खाती, धनिसरा सोमै मगर, पार्वती विक, रुपा विक, शेरबहादुर दराई, दीपेन्द्र ढेङ्गा, कान्छा कुमाल, गुनबहादुर दराई, नरबहादुर विक, ओमबहादुर कुमाललगायतका स्थानीयवासीका घरमा क्षति पुगेको छ। त्यसैगरी मनबहादुर राना र केमबहादुर विकका गोठमा पनि हुरीले क्षति पुर्याएको छ।
कमला कुमालको कच्ची घरको पर्खाल चर्किएको छ भने पार्वती विकको घरको एक कोठाको ब्लक पर्खाल भत्किएको छ। अन्य केही घरमा रुखका हाँगा खस्दा सामान्य क्षति भएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो।
उहाँका अनुसार हुरीका कारण कुनै मानवीय तथा पशुचौपायाको क्षति भएको छैन भने कुनै पनि परिवार विस्थापित हुनुपरेको अवस्था छैन। स्थानीय प्रशासन र प्रहरीको टोलीले प्रभावित क्षेत्रको निरीक्षण तथा क्षतिको विवरण संकलन गरिरहेको छ।








प्रतिक्रिया