हर्क साम्पाङ ट्राफिकको कारबाहीमा, आफूलाई जानकारी नभएको साम्पाङको प्रतिक्रिया

काठमाडौं, २६ जेठ । प्रतिनिधिसभाका सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई ट्राफिक नियम उल्लङ्घन गरेकोमा प्रहरीले कारबाही गरेको छ ।

मोबाइलले भिडिओ खिच्दै मोटरसाइकल चलाएको देखिएपछि ट्राफिक प्रहरीले जरिवाना गरेको हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ ९१० ग बमोजिम कारबाही गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

ऐनमा उल्लेख भए अनुसार यस्तो कसुर गर्नेलाई पहिलो पटक ५ सय रुपैयाँ जरिवाना हुने व्यवस्था छ । पहिलो पटकको कसुरदार भएकाले ५ सय रुपैयाँ जरिवाना तोकिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले आफ्नो फेसबुक पेजमा सांसद साम्पाङको तस्बिर नै राखेर जनगुनासोका आधारमा कारबाही भइसकेको उल्लेख गरेको छ ।

तर साम्पाङले भने आफूलाई ट्राफिक प्रहरीले कारबाही गरेको भन्ने समाचारप्रति आश्चर्य प्रकट गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले आफूलाई यस्तो कारबाहीबारे कुनै जानकारी नभएको दाबी गर्नुभएको छ ।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार  ०८ : ५७  बजे