कम्बोडियामा रहेका ६६ नेपालीलाई तत्काल स्वदेश फर्किन दूतावासको आग्रह

काठमाडौं, २४ जेठ । थाइल्यान्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा भिसा अवधि सकिएपछि पनि गैरकानुनी रूपमा बसिरहेका ६६ जना नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ।

दूतावासले आइतबार सूचना जारी गर्दै विभिन्न उद्देश्यले कम्बोडिया पुगेका नेपाली नागरिकमध्ये भिसा अवधि समाप्त भइसकेपछि पनि नवीकरण नगरी बसिरहेका व्यक्तिहरूलाई नेपाल फर्कन पटक–पटक सम्पर्क गर्दा समेत अपेक्षित पहल नदेखिएको जनाएको छ।

राजदूतावासका अनुसार कम्बोडिया सरकारले भिसा अवधि नाघेर बसेका ६०२ जना नेपाली नागरिकका लागि विशेष सहजीकरण कार्यक्रममार्फत भिसा शुल्क तथा जरिवाना मिनाहा गरी स्वदेश फिर्ताको व्यवस्था मिलाएको थियो। तर इमेल, टेलिफोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्दा पनि ६६ जना नेपाली नागरिक अझै स्वदेश फर्किन तयार नभएको दूतावासले जनाएको छ।

दूतावासले कम्बोडिया सरकारले हालै लागू गरेको नयाँ कानुनअनुसार तोकिएको समयभित्र स्वदेश नफर्कने विदेशी नागरिकमाथि कडा कारबाही हुन सक्ने चेतावनी दिएको छ। उक्त कानुनअनुसार अनुसन्धानपछि कसुरको प्रकृतिअनुसार अधिकतम ५ लाख अमेरिकी डलरसम्म जरिवाना तथा आजीवन कारावाससम्मको सजाय हुन सक्ने व्यवस्था रहेको जनाइएको छ।

दूतावासले सम्बन्धित नेपाली नागरिकलाई तत्काल सम्पर्कमा आई कानुनी प्रक्रियाअनुसार स्वदेश फिर्ता हुन आग्रह गर्दै अन्यथा उत्पन्न हुने कानुनी जटिलताको जिम्मेवारी स्वयं व्यक्तिले नै वहन गर्नुपर्ने स्पष्ट पारेको छ।

विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई स्थानीय कानुन र अध्यागमन नियमको पूर्ण पालना गर्न दूतावासले पुनः अनुरोध गरेको छ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार  २१ : ४६  बजे