काठमाडौं, २० जेठ । मुलुकको सर्वोच्च निकाय राष्ट्रपति कार्यालयमै चोरी भएको तथ्य खुलेको छ । शीतल निवासको भित्तामा सजाएर राखिएका हात्तीका दुई थान दाह्रा चोरी भएको तथ्य खुलेको हो । यसको अनुसन्धानका लागि प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा नेपाली सेनाको २४ सै घण्टा सुरक्षामा रहने राष्ट्रपति कार्यालय समेत निशानामा परेको थियो । त्यतिबेला प्रदर्शनकारीले राष्ट्रपति निवास तोडफोड गर्नुका साथै आगजनी समेत गरेका थिए । राष्ट्रपति बस्ने कुर्सीदेखि, भित्तामा सजाइएका तस्बिरहरु समेत जलाउने, भाँच्ने काम भएका थिए ।
यही मौकामा भित्तामा राखिएका दुई थान हात्तीका दाह्रा समेत चोरी भएको खुलेको हो । चोरी भएको करिब ९ महिनापछि प्रहरीले दाह्रा चोरीको आरोपमा ६ जनालाई दाह्रासहित पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बसपार्क तथा मनमैजु क्षेत्रमा गएराति अपरेशन चलाएर केही व्यक्तिलाई पक्राउ गरेको हो ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले पनि दाह्रा चोरीमा संलग्नहरुलाई पक्राउ गरिएको पुष्टि गर्नुभयो । खडकाका अनुसार टोलीले हात्तीका दाह्रा चोरीमा संलग्नहरुलाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकाहरुको नाम अहिलेसम्म गोप्य राखेको छ ।
पक्राउ परेका व्यक्तिले राष्ट्रपति कार्यालयबाट चोरी गरेर लगेका दाह्रा काटेर भाग लगाएर आ–आफ्ना घरमा सजाएर राखेको पाइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया