महिलामाथि हातपात गरेको आरोपमा रास्वपा नेता पक्राउ

जाजरकोट, १९ जेठ । जाजरकोटमा महिलामाथि हातपात तथा कुटपिट गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रास्वपाका कुशे गाउँपालिका सभापति मोहन विक्रम शाही रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार जेठ १६ गते बिहान कुशे गाउँपालिका–६ स्थित स्वास्थ्य चौकी भवनभित्र एक महिलामाथि शाहीले अपशब्द प्रयोग गर्दै हातपात र कुटपिट गरेको आरोप छ ।

घटनापछि पीडित पक्षको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । शाहीविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको र थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार  ०८ : ०६  बजे