काठमाडौं, १९ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिनुभएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर राजनीतिक विवाद झन् चर्किएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त भनाइ संसद्को अभिलेख (रेकर्ड) बाट नहटाएसम्म र उहाँले सार्वजनिक रूपमा क्षमायाचना नगरेसम्म संसद् चल्न नदिने अडान लिएका छन्।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने कार्यसूची रहे पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सदनमा पुनः अवरोध हुने संकेत देखिएको छ। आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूची भए पनि विपक्षी दलहरू आफ्नो अडानबाट पछि नहट्ने बताइरहेका छन्।
प्रधानमन्त्री शाहले गत १७ जेठमा प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा “भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिनुभएको थियो। उक्त भनाइ सार्वजनिक भएपछि प्रमुख राजनीतिक दलहरू, सीमाविद् तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूले आपत्ति जनाउँदै आएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिलाई निन्दनीय र आपत्तिजनक भन्दै तत्काल सच्याउन माग गरेको छ। नेकपा (एमाले) ले पनि उक्त भनाइलाई राष्ट्रिय हितविपरीत रहेको टिप्पणी गर्दै प्रधानमन्त्रीसँग माफी माग्न माग गरेको छ। एमाले महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा नेपालको ऐतिहासिक नक्सा र राष्ट्रिय अडानलाई कमजोर पार्ने अभिव्यक्ति अस्वीकार्य रहेको उल्लेख गरिएको छ।
नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका विपक्षी दलहरूले पनि छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाइको विरोध गरेका छन्। उनीहरूले नेपालले भारतको कुनै भूमि अतिक्रमण गरेको तथ्य नरहेको दाबी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्याएको बताएका छन्।
यसैबीच, प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा विपक्षी सांसदहरूले सोमबारको प्रतिनिधिसभा बैठकमा नाराबाजी र अवरोध गरेपछि बैठक स्थगित भएको थियो। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर स्पष्टिकरण दिनुपर्ने र विवादित अभिव्यक्ति रेकर्डबाट हटाइनुपर्ने माग दोहोर्याएका छन्।
संसद्मा मात्र होइन, सडकमा पनि विरोधका कार्यक्रम जारी छन्। विभिन्न राजनीतिक दल निकट युवा तथा विद्यार्थी संगठनहरूले प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध प्रदर्शन गर्दै सरकारलाई आफ्नो धारणा सच्याउन दबाब दिइरहेका छन्।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राष्ट्रिय राजनीतिमा बहस तीव्र बनेको अवस्थामा आजको संसद् बैठक कसरी अघि बढ्छ भन्ने चासो बढेको छ।








प्रतिक्रिया