समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौं, १५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल ले सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ ।

१९औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हासिल गर्न संघ, प्रदेश र स्थानीय तहका सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र राष्ट्रिय स्वाभिमानलाई अक्षुण्ण राख्दै दिगो, फराकिलो तथा समन्यायिक आर्थिक वृद्धि हासिल गर्न सबै राजनीतिक दल, नागरिक समाज तथा सम्बद्ध पक्षलाई आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आह्वान गर्नुभएको छ ।

उहाँले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानको प्रतिफलस्वरूप २०६५ साल जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकबाट नेपालमा गणतन्त्र घोषणा गरिएको ऐतिहासिक दिनको स्मरण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले गणतन्त्र स्थापनाका लागि विभिन्न आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी आमनागरिक, जनसमुदाय तथा राजनीतिक कार्यकर्ताको योगदानको प्रशंसा गर्नुभएको छ ।

सन्देशमा उहाँले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच आपसी विश्वास, सहकार्य र राष्ट्रिय एकताको भावना अझ सुदृढ बनाओस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  ०७ : २०  बजे