काठमाडौं, १५ जेठ । नुवाकोटमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको निधन भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार छहरे–टोखा सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्ज्याङमा जिप दुर्घटना हुँदा सिराहा सुखीपुर नगरपालिका–२ निवासी ३५ वर्षीय सञ्जीवकुमार चौधरी गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि ग्राण्डी अस्पताल पुर्याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । साथमा रहेको सवारी चालक अनुमतिपत्रका आधारमा उहाँको सनाखत गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सुनसरी इनरुवा नगरपालिका–५ निवासी ४० वर्षीय उत्सव पोखरेल र काठमाडौं महानगरपालिका–९ गौरीघाट निवासी ४४ वर्षीय लोकेश मिश्रको ग्राण्डी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार ढिकुरेबाट काठमाडौंतर्फ जाँदै गरेको बिएई ०५६९ नम्बरको विद्युतीय कार छहरे–टोखा सडकखण्डस्थित गुर्जेभञ्ज्याङ नजिक अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो । स्थानीयवासीको सहयोगमा प्रहरी टोलीले अँध्यारो र जङ्गली क्षेत्रका बाबजुद तत्काल उद्धार गरी घाइतेलाई उपचारका लागि काठमाडौं पठाएको थियो ।
यसैबीच, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले दिवंगत सञ्जीवकुमार चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
मन्त्री डा. तिमिल्सिनाले घाइते उत्सव पोखरेल र लोकेश मिश्रको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दुर्घटनापछिका विभत्स तस्बिर सामाजिक सञ्जालमा साझा नगर्न पनि सबैमा अनुरोध गर्नुभएको छ ।








प्रतिक्रिया