काठमाडौं, १६ वैशाख। थापाथलीबाट डोजर लगाएर विस्थापित गरिएका सुकुम्बासीको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। एकातिर अस्थायी सेल्टरमा आधारभूत व्यवस्थाको अभाव छ भने अर्कोतिर त्यहाँ पुगेका पत्रकारमाथि समेत कडा नियन्त्रण लगाइँदा वास्तविक अवस्था बाहिर आउन कठिन बनेको छ।
कीर्तिपुरस्थित राधास्वामी सत्संग आश्रममा राखिएका सुकुम्बासीसँग प्रत्यक्ष कुरा गर्न पत्रकारलाई निषेध गरिएको छ। सुरक्षाकर्मी र स्वयंसेवकले फोटो, भिडियो र अडियो रेकर्डिङ गर्न नदिँदै “भिडियो–फोटोका कारण जागिर जाने डर” भएको भन्दै मिडियामाथि असहजता देखाएका छन्। सार्वजनिक चासोको विषयमा यस्तो प्रतिबन्ध लगाइनुले पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ।
अस्थायी टेन्टमा करिब ५७ परिवारका १६१ जना कोचिएर बसिरहेका छन्। खुला ट्रष्टमुनि राखिएका टेन्टमा हावाहुरी र वर्षाको प्रत्यक्ष असर पर्दा सुत्नसमेत कठिन भएको छ। एउटै टेन्टमा ससुरा, बुहारी, नातिनातिना सँगै बस्नुपर्दा विशेषगरी महिलाहरूलाई ठूलो असहजता भएको गुनासो छ। बालबालिकाहरूको पढाइ समेत अन्योलमा परेको छ।
यहीबीच, थापाथलीबाट विस्थापित भएका खम्बसिंह बुढाथोकीको पीडा झन् मार्मिक छ। २० वर्षदेखि बसोबास गर्दै आएको टहरो डोजरले भत्काएपछि उहाँले लुगा फेर्न र जुत्ता लगाउनसमेत नपाएको बताउनुभएको छ। “सामान सार्ने समयसमेत दिइएन, सबै पुरियो,” उहाँले आँखाभरि आँसु पार्दै भन्नुभयो, “अब कहाँ गएर लुगाफाटा खोज्नु ?”
परिवारका सदस्यहरू घरमै हुँदा डोजर चलेपछि बुहारी र नातिनीले केही पनि जोगाउन नसकेको उहाँको भनाइ छ। अस्थायी सेल्टरमा पुग्नुभएका उहाँ अहिले आधारभूत आवश्यकताबाट समेत वञ्चित हुनुहुन्छ। इलाममा भएको जग्गा उपयोग गर्न नसक्दा कामको खोजीमा काठमाडौं आएको बताउँदै उहाँले “सहर पस्नु हाम्रो गल्ती होइन” भन्नुभयो । केही स्वयंसेवकले खाना र आधारभूत सुविधा उपलब्ध गराइएको दाबी गरे पनि सुरुवाती दिनमा प्याकेट खाना अपुग भएको गुनासो आएको थियो। अहिले पनि व्यवस्थापन दीर्घकालीन नभएको र १५ दिनभित्र अन्यत्र सार्ने तयारी मात्र रहेको बताइएको छ।
समग्रमा, सुकुम्बासीको व्यवस्थापनभन्दा बढी उनीहरूको विस्थापन प्रक्रिया र त्यसपछिको अवस्था विवादको केन्द्रमा देखिएको छ—जहाँ पीडा, असहजता र सूचनामाथिको नियन्त्रण तीनै पक्ष एकैसाथ उभिएका छन्।








प्रतिक्रिया