नारायणगढ–बुटवल सडकमा सुरक्षा काम तीव्र, निर्माण अन्तिम चरणमा

काठमाडौँ, १६ वैशाख । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएका खण्डहरूमा अब सडक सुरक्षासम्बन्धी काम तीव्र पारिएको छ।

आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार कालोपत्र सम्पन्न भएका स्थानहरूमा सेतो–पहेंलो रोड मार्किङ, डिभाइडरमा रङ, स्पिड लिमिट संकेत जडान, सिमेन्ट बार, रेलिङ, डब्लु–बिम तथा डेलिनेटर पोल राख्ने काम भइरहेको छ। निर्माणसँगै सुरक्षा पक्षलाई पनि समानान्तर रूपमा अघि बढाइएको उहाँले बताउनुभयो।

उहाँका अनुसार नवलपरासी पूर्वी खण्डको ६५ किलोमिटरमध्ये हाल करिब ७ किलोमिटरमा मात्रै कच्ची सडक बाँकी रहेको छ भने बाँकी क्षेत्रमा पक्की सडक सञ्चालनमा आइसकेको छ। पूर्वी खण्डको समग्र भौतिक प्रगति करिब ८१ प्रतिशत पुगेको छ। दाउन्ने क्षेत्रबाहेक अधिकांश खण्डमा यात्रा सहज बन्दै गएको जनाइएको छ।

२०७५ माघ २४ मा सम्झौता भई २०७९ साउन २२ मा सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको आयोजनाको काम समयमै पूरा हुन नसकेपछि चौथोपटक म्याद थप गरिएको छ। हाल नयाँ समयसीमा आउँदो साउनसम्म तोकिएको छ।

एडिबीको ऋण सहयोगमा सञ्चालन भइरहेको ११३ किलोमिटर लामो यस सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ, जसअन्तर्गत अधिकांश भाग चार लेनमा स्तरोन्नति गरिँदैछ। आयोजना अन्तिम चरणमा पुग्दै गर्दा अब सुरक्षा पूर्वाधारलाई प्राथमिकतामा राखिएको आयोजनाले जनाएको छ।

प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार  ०७ : ३७  बजे