दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

काठमाडौं,  १५ वैशाख ।  सरकारले दुई वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस पठाएको छ।

मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी तथा सहकारी समस्या समाधानसम्बन्धी दुई अध्यादेश अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाइएको स्रोतले जनाएको छ।

शीतल निवास स्रोतका अनुसार सरकारको सिफारिस प्राप्त भएपछि राष्ट्रपतिले कानुनी परामर्श सुरु गर्नुभएको छ।

यसअघि सरकारले वैशाख १७ गतेदेखि आह्वान गरिएको संसद अधिवेशन विशेष कारण देखाउँदै स्थगन गरेको थियो। संसद बैठक स्थगनसँगै अध्यादेशमार्फत अघि बढ्न खोजिएको भन्दै सरकारको कदमप्रति विभिन्न पक्षबाट आलोचना भइरहेको छ।

यद्यपि सरकारले ती अध्यादेशहरू आवश्यक कानुनी व्यवस्था र समस्या समाधानका लागि ल्याउन लागिएको जनाएको छ।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार  १९ : २६  बजे