झडपपछि बस्नेत आक्रोशित: “दोषीमाथि कारबाही नभए प्रतिरोध”

काठमाडौँ, १४ वैशाख। नेकपा एमालेका सचिव महेश बस्नेतले माइतीघर मण्डलामा भएको झडपमा आफ्नी श्रीमतीमाथि गालीगलौज र हातपात भएको दाबी गर्नुभएको छ।

सोमबार माइतीघरमा सुधन गुरुङलाई पुनर्बहाली गर्नुपर्ने मागसहित धर्ना चलिरहेका बेला शोभा पाठक समूह र बस्नेतकी पत्नी अम्बिकासहित पुगेको समूहबीच विवाद भएर झडप भएको थियो।

घटनापछि प्रतिक्रिया दिँदै बस्नेतले केही पुरुष र महिलाले आफ्नी श्रीमतीसहित उपस्थित महिलामाथि दुर्व्यवहार र हातपात गरेको आरोप लगाउनुभएको छ। उहाँका अनुसार उक्त घटनापछि उल्टै आफ्नी श्रीमतीसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बस्नेतले केही सञ्चार माध्यमहरूले घटनालाई गलत रूपमा प्रस्तुत गरेको भन्दै आपत्ति जनाउँदै माइतीघर जस्तो सार्वजनिक स्थललाई व्यक्तिको चरित्र हत्या गर्ने थलोका रूपमा प्रयोग गर्नु निन्दनीय भएको बताउनुभयो।

उहाँले यस्तो संवेदनशील घटनामा सरकार मौन बस्नु उचित नभएको उल्लेख गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभएको छ। अन्यथा सशक्त प्रतिरोधमा उत्रिने चेतावनी पनि उहाँले दिनुभएको छ।

यता घाइते शोभा पाठकले भने आफूलाई बस्नेतकी पत्नी र एमाले कार्यकर्ताबाट आक्रमण गरिएको दाबी गरेकी छन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार  २० : ०२  बजे