‘सुहाङ नेम्वाङको भनाइ’ भनिएका सामाजिक सञ्जालका अधिकांश पोष्ट नक्कली

काठमाडौं, १४ वैशाख । नेकपा एमालेका युवा नेता तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङज्यूको नाम जोडेर सामाजिक सञ्जालमा फैलाइएका अधिकांश भनाइहरू नक्कली भएको स्पष्ट भएको छ।

सुकुम्बासी बस्ती हटाउने विषयमा उहाँले सरकारलाई धन्यवाद दिएको भन्दै विभिन्न सामाजिक सञ्जाल पोस्टहरू भाइरल भएपछि सो विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभएको छ।

फेसबुकमार्फत प्रतिक्रिया दिँदै उहाँले आफूले सुकुम्बासी समस्याबारे कुनै पनि सार्वजनिक टिप्पणी नगरेको स्पष्ट पार्नुभएको छ। संसद अधिवेशन स्थगनपछि हाल गृहजिल्ला इलाममा व्यस्त रहनुभएको बताउँदै उहाँले आफ्नो नाममा फैलाइएका सामग्रीहरू भ्रमपूर्ण रहेको उल्लेख गर्नुभएको हो।

उहाँका अनुसार सामाजिक सञ्जालमा देखिएका ती पोस्ट तथा भनाइहरू उहाँको व्यक्तिगत वा राजनीतिक धारणा नभएको र तीले उहाँको विचारको प्रतिनिधित्व नगर्ने स्पष्ट गरिएको छ।

नेम्वाङज्यूले गलत सन्देश प्रवाह हुने गरी सिर्जित सामग्रीहरू नपोष्ट गर्न तथा नफैलाउन सबैलाई विनम्र आग्रह गर्नुभएको छ।

यस घटनाले राजनीतिक व्यक्तित्वहरूको नाममा सामाजिक सञ्जालमा हुने गलत सूचना र दुष्प्रचारप्रति सचेत रहनुपर्ने आवश्यकता पुनः उजागर गरेको छ।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार  ११ : ३७  बजे