वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग अझै खुलेन

काठमाडौं, १४ वैशाख । हिजो र अस्तिको वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग अझै खुल्न सकेको छैन । डिभिजन सडक कार्यालय भक्तपुर लगायतले हिजो बाटो खुलाउने प्रयास गर्दागर्दै पुनः परेको वर्षाले थप अवरुद्ध बनाएको हो ।

हिजो बेलुकासम्म राजमार्ग खुलाउने प्रयास गरिररहँदा दिउँसो वर्षा भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै अस्थायी डाइभर्सनको काम रोकिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षा नभएमा आज बिहानदेखि पुनः सडक आवागमन गराउन डाइभर्सनको कामलाई निरन्तरता दिइनेछ ।

हिजो आठ ठाउँबाट डाइभर्सन बनाई आवागमन गराउन खोजिए पनि चारसयबेँसी भन्ने ठाउँमा डाइभर्सन बनाउने क्रममा वर्षा भएपछि थप काम रोकिएको उहाँले बताउनुभयो । अस्ति शनिबार दिउँसो वर्षा शुरु भएलगत्तै सम्भावित जोखिमलाई ध्यान दिंदै सडक बन्द गरिएको थियो ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध कटुन्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड वर्षाका कारण रोशी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भनेर सडक बन्द गराएको प्रहरीले जनाएको छ । रोशी खोलामा आएको बाढीले कटुन्जे–मङ्गलटार सडकका विभिन्न ठाउँमा करिब चार किलोमिटर डाइभर्सनमा क्षति पुर्याएको छ ।

गएको चैत तेस्रो हप्ता यसै क्षेत्रका विभिन्न ठाउँका चार किलोमिटर सडक बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो । गएको सालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किलोमिटर सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो ।

सडक अवरुद्ध भएपछि अलपत्र छ सयभन्दा बढी यात्रुलाई हिजो झोलुङ्गेपुलबाट तेमाल गाउँपालिका हुँदै नमोबुद्ध नगरको भकुण्डेसम्म उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । यस्तै स्थानीयको सहयोगमा प्रहरीले भकुण्डेमा यात्रुलाई फलफूल, पानी तथा अन्य पेयपदार्थ वितरण गरेको थियो ।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार  ०७ : १८  बजे