थापाथली र गैरीगाउँका सुकुम्बासी बस्ती हटाउँदा सेनाको गस्ती 

काठमाडौं, १३ वैशाख १३ । काठमाडौँका सुकुम्बासी बस्ती हटाउने क्रममा सुरक्षा सतर्कता बढाइएको छ। थापाथली र गैरीगाउँस्थित बागमती नदी किनारका बस्तीमा शनिबार डोजर चलाउँदा प्रहरीसँगै नेपाली सेनाको उपस्थितिले समेत चर्चा पाएको छ।

सरकारले नदी किनार अतिक्रमण हटाउने अभियानअन्तर्गत ती क्षेत्रमा डोजर परिचालन गरेको हो। बस्ती हटाउने क्रममा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो भने केही स्थानमा सेनाको गस्ती देखिएको स्थानीयले बताएका छन्।

शनिबार बिहान थापाथली क्षेत्रमा सेनाको गाडी गस्तीमा देखिएको थियो। त्यस्तै, गैरीगाउँ क्षेत्रमा पनि सेना परिचालितजस्तै देखिएपछि यसबारे चासो बढेको हो।

सामान्य अवस्थामा सेना परिचालनका लागि सरकारको सिफारिसमा राष्ट्रपतिको स्वीकृति आवश्यक पर्ने व्यवस्था रहेको छ, र विशेष सुरक्षा संकटमा मात्र सेना सडकमा खटिने प्रचलन छ।

तर नेपाली सेनाले भने सुकुम्बासी बस्ती हटाउने कार्यसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ। सेनाका प्रवक्ता राजाराम बस्नेतले उक्त क्षेत्रमा सेना परिचालन गरिएको नभई संयोगवश बाटो परेर गाडी गुज्रिएको हुन सक्ने बताउनुभयो।

“सुकुम्बासी बस्ती हटाउने विषयसँग सेनाको कुनै सम्बन्ध छैन, ती करिडोर क्षेत्र भएकाले सेना हिँडेको देखिएको हुन सक्छ,” उहाँले भन्नुभयो।

यस घटनाले बस्ती हटाउने क्रममा सुरक्षा संयन्त्रको भूमिका र संवेदनशीलताबारे थप बहस सुरु गराएको छ।

प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार  ०९ : १०  बजे