भक्तपुरको मनोहरा क्षेत्रको सुकुम्वासी बस्ती आज हटाइँदै : अवरोध र ढुङगामुढा हुँदा २२ जना सुरक्षाकर्मी घाइते

काठमाडौं, १३ वैशाख । सरकारले काठमाण्डौ उपत्यकाका अनधिकृत संरचना र बस्ती हटाउने कामलाई आज पनि निरन्तरता दिने भएको छ । हिजो हटाउन बाँकी रहेका क्षेत्रमा आज डोजर चलाउने र हटाउने तयारी छ ।

काठमाण्डौको थापाथली तथा गैरिगाउँ क्षेत्रमा अनधिकृत संरचना हटाउने काम सकिएको छ । त्यस्तै हिजो बेलुका भक्तपुरको मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्ती हटाउने क्रममा अवरोध भएको छ । अनधिकृत रूपमा बनाइएका घर टहरा हटाउने क्रममा सुकुम्वासी बस्तीमा रहेका केहीले ढुङगामुढा गरेपछि काम रोकिएको थियो ।

त्यस क्रममा २२ जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । सुरक्षाकर्मीले डोजर प्रयोग गरी ७ वटा घर भत्काएपछि आक्रमण भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो । घर टहरा हटाउन शुरु गर्नुअघि नै मनोहरा बस्तीमा रहेका झण्डै ८० प्रतिशत नागरिकले दिउँसो नै सरसामान अन्तै लगिसकेका थिए ।

मनोहरा सुकुम्वासी बस्तीमा ७७७ घर टहरा रहेको विवरण छ । बस्तीका सुनिल लामाले सरकारले सुकुम्वासीलाई उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।

प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार  ०६ : ५४  बजे