मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

काठमाडौं, १२ वैशाख । मनोहरा नदी किनार क्षेत्रमा अतिक्रमित संरचना हटाउने क्रममा तनाव उत्पन्न भएको छ। डोजरमाथि ढुंगामुढा प्रहार हुँदा करिब एक दर्जन प्रहरी घाइते भएका छन्।

शनिबार बिहानदेखि सुरु गरिएको संरचना हटाउने अभियान साँझ मनोहरास्थित नदी किनार क्षेत्रमा पुगेपछि विवाद चर्किएको हो। संरचना भत्काउन पुगेको डोजरमाथि एक समूहले अचानक ढुंगामुढा प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ।

ढुंगामुढाका क्रममा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका करिब १ दर्जन सुरक्षाकर्मी घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

स्थानीयवासीहरूले आजको काम स्थगित गरी भोलि मात्रै संरचना हटाउन अनुरोध गरेका थिए। सोही अनुरोध स्वीकार गर्दै टोली फर्कने क्रममा केही युवाहरूको समूहले आक्रमण गरेको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार आक्रमणमा संलग्न समूहले मादक पदार्थ सेवन गरेको आशंका गरिएको छ। घटनापछि थप अप्रिय अवस्था नआओस् भन्दै आजका लागि अभियान स्थगित गरिएको छ।

उक्त घटनाले सुकुमवासी बस्ती हटाउने अभियानलाई लिएर स्थानीय असन्तुष्टि र सुरक्षाको चुनौती दुवैलाई उजागर गरेको छ।

प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार  २० : ०९  बजे