काठमाडौं, १० वैशाख । प्रधानमन्त्री बालेन्द्र शाह ले अतिक्रमित सुकुम्बासी बस्ती हटाउने अभियान आगामी आइतबारदेखि सुरु गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ।
सिंहदरबारमा बुधबार साँझ आयोजित बैठकमा प्रधानमन्त्री शाहले काठमाडौं उपत्यकाबाटै अभियान थालेर क्रमशः अन्य क्षेत्रमा विस्तार गर्ने रणनीति अघि सार्नुभएको स्रोतले जनाएको छ। सार्वजनिक जमिन अतिक्रमण गरेर बसोबास गरिएका बस्तीहरू खाली गराउने निर्णय कार्यान्वयनका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ।
बैठकमा स्थानीय सरकारसँग समन्वय, आवश्यक जनशक्ति परिचालन तथा सम्भावित प्रतिरोध व्यवस्थापनका विषयमा समेत छलफल भएको बताइएको छ। प्रधानमन्त्रीले “शनिबार र आइतबारदेखि काठमाडौँबाटै अभियान सुरु गर्नू” भन्दै सुरक्षा निकायलाई स्थानीय तहसँग सहकार्य गरी कार्यान्वयनमा जुट्न निर्देशन दिनुभएको जनाइएको छ।
हालैदेखि गृह मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएका प्रधानमन्त्री शाहले यस अभियानलाई उच्च प्राथमिकतामा राख्नुभएको देखिएको छ।
यसअघि काठमाडौं महानगरपालिका का मेयर रहँदा पनि उहाँले सुकुम्बासी बस्ती व्यवस्थापनको प्रयास गर्नुभएको थियो। तर, स्थानीय बासिन्दाको विरोध र तत्कालीन सरकारी असहयोगका कारण अभियान सफल हुन सकेको थिएन।
संघीय सरकारकै नेतृत्वमा आएपछि प्रधानमन्त्री शाहले सोही मुद्दालाई पुनः अघि बढाउनुभएको हो। अब आगामी दिनमा यो अभियान कसरी कार्यान्वयन हुन्छ र त्यसले कस्तो प्रतिक्रिया ल्याउँछ भन्ने विषय चासोका रूपमा हेरिएको छ।







प्रतिक्रिया