गृहमन्त्री सुधन गुरुङ राति नै पार्टी सभापति भेट्न पुगे, पार्टीभित्र राजीनामाको दबाब तीव्र


काठमाडौँ, ७ वैशाख । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा प्रत्यक्ष साझेदारी भेटिएका गृहमन्त्री सुधन गुरुङ आइतबार राति रास्वपा सभापति रवि लामिछानेलाई भेट्न पुग्नुभएको छ।भट्टसम्बद्ध स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको कागजात आइतबार सार्वजनिक भएको थियो । अनुसन्धानको दायरामा रहेको कम्पनीमा गृहमन्त्री आफैँ साझेदार हुँदा अनुसन्धान प्रभावित हुने भनी उहाँले राजीनामा दिनुपर्ने माग सत्तारूढ रास्वपामा उठ्न थालेको छ । राजीनामाको दबाब बढेपछि मन्त्री गुरुङ बूढानीलकण्ठस्थित लामिछाने निवासमा पुग्नुभएको हो । बेलुकी ८ बजेपछि पुगेका उहाँ राति १० बजेको हाराहारीमा निस्किएको सुरक्षास्रोतले जनाएको छ ।गुरुङ लामिछानेको घर पुग्दा परिवारका सदस्य र पार्टीका कोही पनि सहकर्मी थिएनन् । रास्वपास्रोतका अनुसार गुरुङले प्रधानमन्त्री बालेन्द्र साह र लामिछानेबीच फोन संवाद गराउँदै राजीनामाको दबाब मत्थर पार्ने प्रयास गरेका थिए । सभापति लामिछानेले सोमबार पनि पार्टीको बैठक जारी रहेको र आफ्नो कुरा बैठकमै राख्न सकिने भनेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार  १२ : ३५  बजे