गृहमन्त्री गुरुङलाई बर्खास्त गर्न जेनजी मुभमेन्टको माग

काठमाडौं, ७ वैशाख । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उहाँलाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेको छ।

सोमबार प्रवक्ता विजय शाहले जारी गरेको प्रेस वक्तव्यमा पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने र यसले स्वार्थको द्वन्द्व निम्त्याउने उल्लेख गरिएको छ। आफ्नैविरुद्ध छानबिन भइरहेको अवस्थामा मन्त्री पदमा रहिरहनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत भएको भन्दै निष्पक्ष न्यायका लागि पदत्याग आवश्यक रहेको जिकिर गरिएको छ।

मुभमेन्टले मन्त्री नियुक्ति र बर्खास्तीलाई हल्का राजनीतिक खेल नबनाउन बालेन शाह नेतृत्वको सरकारलाई आग्रह गरेको छ। क्याबिनेटमा समावेश गर्ने निर्णयलाई गम्भीर राजनीतिक र नैतिक विषयका रूपमा लिनुपर्ने भन्दै नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता देखाउनुपर्ने उल्लेख गरिएको छ। वक्तव्यमा ‘यो कुनै साधारण सरकार नभई ७६ जना शहीदको बलिदानबाट प्राप्त जनादेशको प्रतिनिधित्व गर्ने सरकार हो’ भन्दै जनताको त्यागमाथि सस्तो राजनीति नगर्न चेतावनी दिइएको छ। सुशासन, पारदर्शिता र जवाफदेहितामा कुनै सम्झौता स्वीकार्य नहुने पनि मुभमेन्टले स्पष्ट पारेको छ।विवादास्पद व्यापारी दीपक भट्टसँग साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा मुछिएका छन्।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार  ०८ : ०१  बजे