बनेपा, ६ वैशाख। शनिबार दिउँसो परेको वर्षाका कारण विपी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । वर्षासँगै रोसी खोलामा आएको बाढीले राजमार्गका विभिन्न स्थानका डाइभर्सन सडक बगाएपछि यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन बिष्टका अनुसार रोसी खोलामा आएको बाढीले चारसयबेसी, घुमाउने, दाउन्ने, नार्केललगायत स्थानका डाइभर्सन सडक बगाएको छ । बाढीले डाइभर्सन सडकका साथै सवारी आवागमनका लागि खोलामा राखिएका ह्युम पाइपसमेत बगाएपछि यातायात पूर्ण रूपमा बन्द गरिएको उहाँले बताउनुभयो ।
अवरुद्ध सडक खुलाउन घुमाउनेमा दुई वटा र चारसयबेसीमा एउटा जेसीबीमार्फत डाइभर्सन निर्माणको काम भइरहेको छ । रोसी खोलामा बाढी आएपछि शनिबार राति १२ बजेदेखि मङ्गलटार, भकुण्डे र काभ्रेभञ्ज्याङमा सवारी साधन रोकिएको प्रहरीले जनाएको छ । डाइभर्सन पुनर्निर्माणको काम जारी रहेकाले बिहान ११–१२ बजेसम्म सवारी सञ्चालन नहुने अनुमान गरिएको छ ।
गत वर्ष असोज दोस्रो साताको बाढीले भकुण्डेदेखि नेपालथोकसम्मको करिब २८ किलोमिटर सडक क्षति गरेको थियो । उक्त क्षतिग्रस्त खण्डमध्ये काभ्रेपलाञ्चोकतर्फ चार र सिन्धुलीतर्फ एक ठेक्कामार्फत पुनर्निर्माण कार्य भइरहेको छ ।







प्रतिक्रिया