सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु, १५ घाइते

काठमाडौं, ६ वैशाख । सल्यानको बनगाड कुपिन्डे नगरपालिका– १० पुछालामा जन्ती सवार जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । बनगाड कुपिन्डे नगरपालिका–८ थाराबाट कालीमाटी गाउँपालिका– १ लक्ष्मीपुर जाँदै गरेको लु.प्र ०१००१ ज ०२७१ नम्बरको जिप पुछाला भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी बनगाड कुपिन्डे नगरपालिका– ८ का ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षीय ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गम्भीर घाइते तीनैजनालाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो ।

दुर्घटनामा परी मनबहादुर थापा, अम्मरसिंह कँवर, डम्मर घर्ती, जनक थपा, भूपेन्द्र कँवर, भुलबहादुर थापा, जुगसिंह पुन, अम्मर पुन, नरसिंह थापा, प्रेमबहादुर घर्ती, नरबहादुर थापा, कर्णबहादुर थापा, लालबहादुर घर्ती, तिलक थापा र गाडीचालक कुलबहादुर राना घाइते भएको भट्टराईले बताउनुभयो । घाइतेलाई मेहलकुना अस्पताल पठाइएको प्रहरीको भनाइ छ । जिप अनियन्त्रित हुँदा सडकबाट करिब ५० मिटर तल खसेको छ ।

प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार  ०७ : ०१  बजे