सरकारले चर्को आलोचनापछि स्वास्थ्य कारण देखाउँदै युट्युबर रोशनलाई हाजिरी जमानीमा छोड्यो

काठमाडौं,  २९ चैत्र ।  प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै आपत्तिजनक शब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोख्रेललाई स्वास्थ्य अवस्थाको कारण देखाउँदै हाजिरी जमानीमा रिहा गरिएको छ ।

फाल्गुनन्द गाउँपालिकाबाट पक्राउ परेका पोख्रेललाई पाँचथर प्रहरीले अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको थियो । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हिरासतमा रहँदा उनको स्वास्थ्यमा समस्या देखिएपछि परिवारको जिम्मा लगाएर हाजिरी जमानीमा रिहा गरिएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रामचन्द्र साहले स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अस्थायी रूपमा रिहा गरिएको जानकारी दिए ।

यसअघि पक्राउ प्रक्रियाप्रति विभिन्न समूहले कडा आपत्ति जनाएका थिए । विशेषगरी जेन-जी मुभमेन्ट नेपालले यस घटनालाई अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै विरोध जनाएको थियो । Gen-Z Movement Nepal ले तत्काल रिहाइको माग गर्दै लोकतान्त्रिक अधिकारको संरक्षणमा जोड दिएको थियो ।

त्यसैगरी, सरकार प्रमुख तथा काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध लक्षित अभिव्यक्तिका कारण भएको पक्राउप्रति सामाजिक सञ्जालमा पनि व्यापक बहस र आलोचना भएको थियो ।

प्रहरीका अनुसार युट्युबर पोख्रेलमाथिको मुद्दा भने अझै यथावत रहनेछ र आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइनेछ । उनी हाजिरी जमानीमा रिहा भए पनि कानुनी कारबाही प्रक्रिया रोकिएको छैन ।

यस घटनाले अभिव्यक्ति स्वतन्त्रता र कानुनी सीमाबारे पुनः बहस चर्काएको छ ।

प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार  १७ : ३३  बजे