काठमाडौं, २९ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह लाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा दिनुभएको खुलासा भएको छ। परराष्ट्रमन्त्री शिशिर खनाल ले मौरिससबाट उक्त जानकारी सार्वजनिक गर्नुभएको हो।
मौरिससको पोर्ट लुइसमा शनिबारदेखि सुरु भएको नवौं हिन्द महासागर सम्मेलनमा सहभागी हुन पुगेका परराष्ट्रमन्त्री खनालले वायोन न्यूजसँगको कुराकानीमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई बधाई सन्देशसँगै भारत भ्रमणको निम्तो पठाउनुभएको बताउनुभयो।
उहाँका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले उक्त निमन्त्रणा स्वीकार गरिसक्नुभएको छ। यद्यपि भ्रमणको औपचारिक मिति भने अझै तय भइसकेको छैन। दुवै देशका कूटनीतिक संयन्त्रले उपयुक्त समय निर्धारण गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो।
परराष्ट्रमन्त्री खनालले भन्नुभयो, “हामीले निमन्त्रणा प्राप्त गरिसकेका छौँ। प्रधानमन्त्रीलाई बधाई सन्देशमार्फत नै निमन्त्रणा आएको थियो र उहाँले स्वीकार गरिसक्नुभएको छ। अब दुवै पक्षका संयन्त्रहरूले उपयुक्त समय तय गर्नेछन्।”
उहाँले नेपालले पहिले आन्तरिक रूपमा आफ्ना प्राथमिकता तय गर्ने र त्यसपछि उच्चस्तरीय भ्रमण तथा कूटनीतिक पहललाई अगाडि बढाउने नीति लिएको स्पष्ट पार्नुभयो।
मन्त्री खनालले मौरिससमै भारतीय विदेशमन्त्री एस. जयशंकर सँग प्रत्यक्ष भेटवार्ता भएको जानकारी पनि दिनुभयो। उक्त भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको उहाँको भनाइ छ।
उहाँले नेपाल र भारतबीच करिब ४० वटा द्विपक्षीय संयन्त्र सक्रिय रहेको उल्लेख गर्दै ती संयन्त्रमार्फत संवादलाई थप प्रभावकारी बनाइने बताउनुभयो।
परराष्ट्रमन्त्री खनालले नेपालको परराष्ट्र नीतिको आधार क्षेत्रीय अखण्डता, सार्वभौमसत्ता, असंलग्नता र स्वतन्त्र कूटनीतिक सिद्धान्तमा आधारित रहने स्पष्ट गर्नुभयो।
उहाँले भन्नुभयो,
“हाम्रो परराष्ट्र नीति राष्ट्रिय हित र आर्थिक वृद्धिलाई केन्द्रमा राखेर अघि बढ्नेछ। छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय साझेदारसँगको सम्बन्ध पनि यही आधारमा सुदृढ गरिनेछ।”







प्रतिक्रिया