बढ्दो असमानताले सामूहिक जिम्मेवारीको माग गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं, २८ चैत्र । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले सहकार्य मात्र नभई सामूहिक जिम्मेवारीको माग गरिरहेको बताउनुभएको छ ।

मौरिससको पोर्ट लुइसमा आजदेखि शुरू भएको नवौँ हिन्द महासागर सम्मेलनमा सम्बोधन गर्दै उहाँले मध्यपूर्वमा भइरहेका द्वन्द्वबाट नेपालसहित सिङ्गो विश्व नै प्रभावित भएको उल्लेख गर्नुभयो ।

मन्त्री खनालले द्वन्द्वका असर क्षेत्रीय सीमाभन्दा बाहिर फैलिएका र त्यसले इन्धन मूल्य, आपूर्ति शृङ्खला र जीविकोपार्जनमा समेत प्रभाव पारेकाले हिन्द महासागरको स्थिरता विश्व शान्तिसँग जोडिएको बताउनुभयो ।

‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ विषयक सम्मेलनमा उहाँले नेपालका लागि, सामूहिक संरक्षकत्वको सुरुआत एउटा सरल सत्यबाट हुने र हिमाल तथा महासागरको भविष्य एक–अर्कासँग अविच्छिन्न रूपमा जोडिएको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: २८ चैत्र २०८२, शनिबार  १९ : २८  बजे