काठमाडौं, १७ कात्तिक । चार वटै सुरक्षा निकायका प्रमुखहरूले लुटिएका हतियार र फरार कैदीबन्दी तथा थुनुवालाई प्रमुख सुरक्षा चुनौतीका रूपमा औंल्याएका छन् । नेपाली सेनाको मुख्यालय जंगीअड्डामा आइतबार भएको सुरक्षा विश्लेषण र चुनावी सुरक्षा समीक्षामा उनीहरूले २४ भदौमा जेलबाट भागेका कैदीबन्दी तथा थुनुवा र लुटिएका हतियार प्रमुख चुनौतीका रूपमा औंल्याएका हुन् । यसले चुनावी सुरक्षालाई थप चुनौतीपूर्ण बनाएको उनीहरूको निष्कर्ष छ । उनीहरूले सुरक्षा निकायहरूबीच एकल र संयुक्त रूपमा ‘अपरेसन’ चलाएर लुटिएका हतियार फिर्ता, फरार कैदीबन्दी नियन्त्रण र शान्तिसुरक्षालाई प्रतिकूल प्रभाव पार्ने पक्षलाई निस्तेज पार्ने रणनीति आवश्यक भएको पनि औंल्याएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलले आइतबार बिहान ११ बजे प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीसहितका उच्च सुरक्षा अधिकारीहरूलाई जंगीअड्डामा डाकेर पछिल्लो सुरक्षा अवस्था, चुनावी सुरक्षा रणनीतिलगायत विषयमा छलफल गर्नुभएको हो ।
त्यस क्रममा प्रहरी महानिरीक्षक खापुङ, सशस्त्र बलका महानिरीक्षक अर्याल र अनुसन्धान विभाग प्रमुख कार्कीले आ–आफ्ना संयन्त्रबाट भइरहेका कामकारबाहीबारे जानकारी गराउनुका साथै देखा परेका चुनौतीबारे बताएका थिए । तीन वटै निकायका सुरक्षा प्रमुखले २४ भदौको घटना र यसबाट सिर्जित अवस्था नै अहिलेको चुनौती रहेको औंल्याएको सहभागी एक अधिकारीले बताउनुभयो । दिउँसो २ बजेसम्म बसेको बैठकमा चुनौतीलाई चिर्दै आगामी चुनावी सुरक्षालाई कसरी प्रभावकारी, व्यवस्थित र भरपर्दो बनाउने भन्नेबारे छलफल भएको थियो । पछिल्ला दिनमा सेना, प्रहरी र सशस्त्रले शान्तिसुरक्षाको अवस्था मध्यनजर गरेर देशभर संयुक्त सुरक्षा गस्ती सुरु गरेका छन् । ‘सुरक्षा स्थिति चुनौतीपूर्ण छ, २४ भदौपछि सुरक्षा निकायहरूको मनोबल पनि कमजोर बनेको पृष्ठभूमिमा यसलाई बिस्तारै सामान्यीकरण गर्दै लैजान, अन्तरसुरक्षा निकाय सम्बन्ध थप सुदृढ बनाउन, भागेका कैदी, लुटिएका हतियार र यसबाट सिर्जित थ्रेटले समाजमा पारिरहेको त्रासलाई हटाउन एवं अवाञ्छित गतिविधि नियन्त्रण गर्न संयुक्त सुरक्षा गस्ती थालिएको हो,’ सेनाका एक उच्च अधिकारीले भन्नुभयो , ‘यसमा राम्रो फिडब्याक आएको छ, यसलाई निरन्तरता दिने र सम्बद्ध सुरक्षा निकायहरूले एकल र संयुक्त रूपमा साझा चुनौती सामना गर्ने सम्बन्धमा आइतबारको छलफल केन्द्रित रह्यो ।’








प्रतिक्रिया