अपवित्र पार्टी एकता रोकौँ : सुदन किराती

काठमाडौं :नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकता नगर्न आग्रह गरेका छन् । उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भ्रष्टाचार मुद्दा लागेको सन्दर्भ उल्लेख गर्दै अपवित्र एकता नगर्न नेतृत्वलाई सुझाव दिएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई नेतृत्व परित्याग गर्न आग्रह गर्दै पार्टी रूपान्तरणका लागि पाँचवटा प्रस्ताव अघि सारेका छन् । किरातीका अनुसार, पार्टी, आन्दोलन र जनयुद्धको भावनाविपरीत व्यक्तिगत स्वार्थका लागि एकता गर्न लागिएको छ। ‘यो एकता अपूर्ण र अपवित्र छ,’ उनले भनेका छन्। भ्रष्टाचारसम्बन्धी मुद्दाहरूको छानबिन चलिरहेको अवस्थामा एकता गर्नु उचित नहुने उनको तर्क छ।

किरातीका पाँच प्रस्तावहरू यसप्रकार छन् :
१) विधान संशोधन गरेर नयाँ संरचना निर्माण गरी अधिकार बाँडफाँट गरौँ । (आवश्यक पर्दा संरक्षकले पार्टी विघटन गरी अधिवेशन घोषणा गर्नेसम्मको अधिकार)

२) पार्टी, आन्दोलन र जेनजीको भावना विपरित व्यक्तिको लागि गर्न लागिएको अपवित्र र अपूर्ण (भ्रष्टाचार सम्बन्धी मुद्दाको छानबिन भइरहेको बेला) पार्टी एकता तत्काल रोकौं ।

३) प्रचण्डलाई संरक्षक वा सर्वमान्य नेता बनाई पदाधिकारीहरूलाई निर्देशक कमिटीमा बदलौँ ।

४) स्थायी समितिदेखि पुराना नेताहरू सम्मिलित एक केन्द्रीय राजनीतिक समिति बनाऔँ । (राष्ट्रिय महत्त्वका निर्णय देखि सांसद छनोटलगायत अधिकार सो समितिलाई विधानमा व्यवस्था गरौँ ।)

५) तेस्रो पुस्तालाई कार्यकारी जिम्मेवारी दिउँ र तेस्रो पुस्ताले पुलको काम गर्दै पुरानो पुस्ताको अनुभव तथा नयाँ (जेन–जी) पुस्ताको ऊर्जालाई जोडेर पार्टीलाई गति दिउँ वा पार्टीलाई अफ्ठ्यारोबाट उद्धार गरौँ ।

प्रकाशित मिति: १७ कार्तिक २०८२, आइतबार  १४ : १७  बजे