बालेनको अश्लील स्ट्याटसपछि शिक्षा मन्त्री महावीर पुनको सन्देश : सर्को तानेपछि केहि पनि नबोल्न र नलेख्न अनुरोध

काठमाडौं, कात्तिक १६। काठमाडौं महानगरका प्रमुख बालेन शाहले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा नसाको सुरमा विभिन्न देश र राजनीतिक दलप्रति अश्लील गाली गर्दै स्ट्याटस लेखेपछि सार्वजनिक प्रतिक्रिया बढेका छन् ।

उहाँको उक्त स्ट्याटसमा प्रयोग भएका शब्द र आरोपहरूलाई लिएर आमनागरिकदेखि राजनीतिक दलका कार्यकर्तासम्मले आपत्ति जनाइरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पनि सामाजिक सञ्जालमार्फत टिप्पणी गर्नुभएको छ ।मन्त्री पुनले आइतबार बिहान आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ-‘केही केही आशा लाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केही छैन । तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ ।’

उहाँको यो टिप्पणीलाई बालेन शाहको पछिल्लो फेसबुक स्ट्याटससँग जोडेर हेरिएकाे छ । शनिबार मध्यराततिर बालेनले आफ्नो आधिकारिक फेसबुकमा अमेरिका, भारत, चीन लगायतका मित्र राष्ट्रहरूमाथि र नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपासहितका राजनीतिक दलमाथि समेत अशोभनीय शब्द प्रयोग गर्दै अंग्रेजी भाषामा स्ट्याटस लेखेका थिए । उक्त स्ट्याटस केही मिनेटमा नै भाइरल बनेको थियो । पछि उनले साे स्ट्याटस मेटेका छन् ।

उनले लेखेको स्ट्याटसमा असंयमित भाषाशैली र गालीगलौजयुक्त शब्दहरू प्रयोग गरिएकाले सर्वसाधारणदेखि राजनीतिक वृत्तसम्म चासो बढेको हो । कतिपयले बालेनको स्वास्थ्य अवस्था र मानसिक सन्तुलनबारे प्रश्न उठाएका छन् भने केही समर्थकले ‘उहाँले साहसका साथ सत्य बोलेका हुन्’ भन्दै बचाउ गरेका छन् ।

मन्त्री पुनको उक्त फेसबुक स्ट्याटसमा पनि धेरै प्रतिक्रियाहरू आएका छन् । कतिपय प्रयोगकर्ताले उहाँको टिप्पणीलाई ‘संयम र विवेकपूर्ण सन्देश’ भनेका छन् भने केहीले बालेनलाई पक्राउ गरेर कारबाही गर्नु पर्ने प्रतिक्रिया जनाएका छन् । केहीले असन्तुलित मानसिकता र पूर्वाग्रही सोच भएको व्यक्ति राज्यको नेतृत्वमा पुग्दा राज्य आसुरी बन्छ वा विनाश हुन्छ भन्ने प्रतिक्रिया जनाएका छन् ।

बालेन शाहले भने अहिलेसम्म आफ्नो विवादास्पद स्ट्याटसबारे कुनै टिप्पणी गरेका छैनन् । उनी साे स्ट्याटस हटाएर माैन छन् । महानगरको जनप्रतिनिधिका रूपमा सार्वजनिक जिम्मेवारी वहन गरिरहेको अवस्थामा यसरी अन्तर्राष्ट्रिय मित्रराष्ट्र र दलप्रति अपमानजनक अभिव्यक्ति दिनु कूटनीतिक शिष्टाचारविपरीत भएको विज्ञहरूको भनाइ छ ।

यसअघि पनि बालेन शाहले विभिन्न विवादास्पद अभिव्यक्ति र गीतमार्फत राजनीतिक तथा कूटनीतिक वृत्तलाई आक्रोशित बनाउँदै आएका थिए । उनले श्रीमती चढेकाे गाडी ट्रफिक प्रहरीले राेक्दा सिंहदरबार जलाउनेसम्मकाे धम्की सामाजिक सञ्जालबाट दिएका थिए ।

प्रकाशित मिति: १७ कार्तिक २०८२, आइतबार  १० : १५  बजे