वैशाखयता चार हजार ६०० विपद्जन्य घटना, ३३५ जनाको मृत्यु

काठमाडौं, १६ कात्तिक । यो वर्षको कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएको छ । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबार (कात्तिक १५)सम्म ३३५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार, उक्त अवधिमा ४१ जना बेपत्ता भएका छन् ।

एक हजार २६४ जना घाइते भएका छन् ।बाढीका मात्रै ३१६ घटना हुँदा ३७ को मृत्यु र २७ जना बेपत्ता भएका छन् । पहिरोका ५५० घटना हुँदा ६७ को मृत्यु र चारजना बेपत्ता भएका छन् । चट्याङका ३५६ घटना हुँदा ४४ जनाको मृत्यु भएको छ । सर्पदंशका ५३८ घटना हुँदा ९२ जनाको मृत्यु भएको छ ।जनावरको आक्रमणका २६९ घटनामा २५ जनाको मृत्यु र एक बेपत्ता भएका छन् ।

लेक लागेका ८० घटनामा २७ जनाको मृत्यु भएको छ ।भारी वर्षाका ४२० घटनामा सात, आगलागीका एक हजार ६१४ घटनामा २६ र हुरीबतासका २८६ घटनामा आठजनाको मृत्यु भएको प्रवक्ता महतले जानकारी दिइन् ।हिउँपहिरोमा परी नौजना बेपत्ता भएका प्राधिकरणले जनाएको छ ।शनिबार मात्रै विभिन्न विपद्जन्य घटनामा दुईजनाको मृत्यु भएको छ । विपद्जन्य ४६ घटना भएको र उक्त विपद्ले ३१ जिल्ला प्रभावित बनाएको प्राधिकरणले जानकारी दिएको छ ।

प्रकाशित मिति: १७ कार्तिक २०८२, आइतबार  ०७ : ३४  बजे