काठमाडौं, १५ कात्तिक । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले चार प्रदेशमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान ११ बजे जारी गरेको जानकारीअनुसार हाल कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशका केही स्थान र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।
उल्लिखित दुई मौसम प्रणालीको प्रभावले आज पनि बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान, कोसी प्रदेश र मधेस प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । बंगालको खाडीमा विकसित चक्रवात मोन्थाको प्रभाव भने आज बिहानदेखि हटिसकेको मौसम महाशाखाले जनाएको छ । योसँगै अब वर्षा र हिमपात हुने क्रम पनि घट्दै जाने सम्भावना छ ।








प्रतिक्रिया