काठमाडौं, २ असोज । नियमित कार्यअवधि पूरा नहुँदै नेपाल प्रहरीका विभिन्न जिल्लाका प्रमुख फेरिएका छन् । भदौ ३१ गते आईजीस्तरीय निर्णयले असोज महिनाको तलब खाने गरी ४८ एसपी सरुवा हुँदा १० जिल्लामा प्रहरी प्रमुख फेरिएका हुन् । यसअधि विभिन्न जिल्लामा काज गएका दुई एसपीको सोही जिल्लामा दरबन्दी कायम भएको छ ।सप्तरी र कैलालीमा यसअघि नै काजमा गएका एसपीहरु गौतमकुमार केसी र नरेन्द्र चन्दकै दरबन्दी कायम भएको छ । बाँके जिल्ला प्रहरी प्रमुखमा अंगुर जिसी सरुवा भएका छन् । उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् । अत्यन्तै आकर्षक मानिने पर्सामा पाँच महिनामै एसपी गौतम मिश्र त्यहाँबाट सरुवा भएर सुदूरपश्चिम प्रहरी कार्यालय पुगेका छन् । त्यहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एसपी सुदीपराज पाठक सरुवा भए । अर्को आकर्षक मानिने मकवानपुरका एसपी विश्वराज खड्का १३ महिना बसेर प्रधान कार्यालय सरुवा भए म त्यहाँ सुवासचन्द्र बोहराले कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन् ।मोरङमा कवित कट्वाल, सुनसरीमा केशवकुमार थेवे, दाङमा दीपक श्रेष्ठ, पाल्पामा दीपेन्द्र पंजियार थारु, कास्कीमा नवीन कार्की, कपिलवस्तुमा सन्तोष आचार्य जिल्ला प्रहरी प्रमुखका रुपमा सरुवा भएका छन् । डोटीमा महेन्द्र नेपाल र भक्तपुरमा सूर्यबहादुर खड्का सरुवा भएर कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दैछन् ।
9
Shares








प्रतिक्रिया