नख्खु कारागारबाट फरार कैदी सर्लाहीमा पक्राउ

सर्लाही, ३१ भदौ । नख्खु कारागार काठमाडौंमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका एक कैदीलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका– ७ बस्ने करिब ३० वर्षका फिरोज मंसुर न्यु ब्लक नख्खु कारागारमा कैद भुक्तान गरिरहेका थिए । गत २५ भदौमा जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट भागी फरार भएका थिए ।

गोप्य सूचनाको आधारमा सोमबार साँझ प्रहरी सहायक निरीक्षक शनिदेवल साहको कमाण्डमा खटिएको टोलीले मंसुरलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

हाल उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको र कारागार कार्यालय सर्लाही पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार  ०९ : ०६  बजे