काठमाडौं, ३० भदौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त पार्टी कार्यालयमा पहिलो पटक पुगेका छन्। सोमबार दिउँसो ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा पुगेका उनले देशभर क्षतिग्रस्त पार्टी कार्यालय पुनर्निर्माणको काम छिटो सुरु गर्न कार्यकर्तालाई अपिल गरेका छन्। महासचिव पोखरेलले पार्टी केन्द्रीय कार्यालयको निरीक्षणपछि सरकारी संयन्त्रसँग समन्वय गरेर सार्वजनिक संरचना निर्माणमा योगदान दिन पनि निर्देशन दिएका हुन्।
उनले असोज २ गते संविधान दिवस खरानीकै थुप्रोबाट मनाउन एमालेजनलाई निर्देशन दिएका छन्। पोखरेलले भने, “लामो संघर्षपछि २०७२ सालमा प्राप्त संविधान दिवस असोज ३ गते पर्छ। यो दिवस हामी खरानीकै थुप्रोबाट मनाउने छौँ। सबै जिल्लामा कार्यक्रम हुनेछ, र काठमाडौं उपत्यकामा पार्टी केन्द्रीय कार्यालयको प्रांगणमा विशेष कार्यक्रम हुनेछ।” महासचिव पोखरेलले सडकबाट मात्र निर्णय नहुने भएकाले उपलब्धिलाई संविधानमा संस्थागत गर्नुपर्ने पनि बताए।
प्रतिक्रिया