राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक : प्रेस चौतारी

काठमाडौं, भदौ २८ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई प्रेस चौतारी नेपालले असंवैधानिक, स्वेच्छाचारी र लोकतान्त्रिक मूल्य–मान्यताको प्रत्यक्ष उल्लंघन भएको भन्दै घोर विरोध जनाएको छ ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेद्वारा आज जारी विज्ञप्तिमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति विवादमै रहेका बेला निर्वाचित प्रतिनिधिहरूको सभामाथि प्रहार गर्ने गरी प्रतिनिधिसभा विघटन गरिएको निर्णय संविधानवाद र कानुनको शासन विपरीत रहेको ठहर गरिएको छ ।

“यस्ता कदमले लोकतन्त्रको जग नै कमजोर पार्छ,” विज्ञप्तिमा भनिएको छ, “यसले प्रेस स्वतन्त्रता, विचार अभिव्यक्ति र नागरिक अधिकार समेत खतरामा परेको छ ।”

प्रेस चौतारी नेपालले लोकतन्त्र, गणतन्त्र र संविधानको संरक्षणका लागि आफू सदैव प्रतिबद्ध रहेको जनाउँदै प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णय खारेज गर्न माग गरेको छ । साथै, लोकतान्त्रिक अभ्यास गर्ने संसदीय थलो मास्ने कदमविरुद्ध नागरिक फेरि जाग्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

विज्ञप्तिमा विषमपूर्ण परिस्थितिमा सञ्चारकर्मीहरूले संयमित र सुरक्षित रहेर पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै राज्यलाई सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति दिलाउन र समाचार संकलन, सम्प्रेषण, प्रकाशन तथा प्रशारणमा कुनै अवरोध नआओस् भन्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार  १३ : ४१  बजे