काठमाडौं, ४ कात्तिक । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउन चाहनेका लागि आज बिहान १० बजेर २६ मिनेटको उत्तम साइत निर्धारण गरेको छ।
समितिका अनुसार घटस्थापनाका दिन स्थापना गरिएको कलश र पूजा कोठामा आह्वान गरिएका देवीलाई आज बिहान ८ बजेर ४९ मिनेटमा विधिपूर्वक विसर्जन गरिनेछ। त्यसपछि मान्यजनबाट टीका र जमरा लगाउने क्रम सुरु हुन्छ।
समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईका अनुसार विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन साइत खोजिरहनु आवश्यक छैन। राज्य सञ्चालकले भने शास्त्रीय मान्यताअनुसार उत्तम साइतमा टीका लगाउने परम्परा रहेको उहाँले बताउनुभयो।
टीका लगाउँदा पश्चिम, लगाइदिँदा पूर्व फर्किनुपर्ने
धर्मशास्त्रविद् एवं समितिका पूर्वसदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार आज चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्छ। टीका लगाइदिने व्यक्ति भने पूर्व फर्केर बस्नुपर्ने धार्मिक मान्यता छ।
चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने मान्यताअनुसार टीका लगाउने दिशा निर्धारण गरिने उहाँले जानकारी दिनुभयो। टीका लगाउने र लगाइदिने व्यक्तिको दिशा कोजाग्रत पूर्णिमासम्म चन्द्रमा रहेको राशिका आधारमा तय हुने उहाँको भनाइ छ।
टीका लगाउनुअघि कलशको जलले अभिषेक
घटस्थापनाका दिन स्थापना गरिएको कलशको जललाई पवित्र मानेर टीका लगाउनुअघि अभिषेक गर्ने परम्परा छ। धार्मिक मान्यताअनुसार उक्त जलबाट अभिषेक गर्दा वर्षभर शान्ति र कल्याण प्राप्त हुन्छ। त्यसपछि मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरिन्छ।
दसैँमा प्रयोग गरिने पहेँलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ। मान्यजनबाट टीका ग्रहण गर्दा गुरु, पुरोहित, हजुरबा, हजुरआमा, बुबाआमा तथा अन्य अग्रजबाट दीर्घायु, सुख, समृद्धि, ऐश्वर्य र सफलताको आशीर्वाद लिने परम्परा छ।
विजय र सद्भावको प्रतीक विजयादशमी
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा विजयादशमी मनाइन्छ। धार्मिक विश्वासअनुसार त्रेतायुगमा आजकै दिन भगवान् रामले रावणमाथि विजय प्राप्त गर्नुभएको थियो। त्यसैले यस दिनलाई विजयको प्रतीकका रूपमा लिने गरिन्छ।
दसैँमा पुरुषलाई टीका लगाउँदा आयु, ऐश्वर्य, शौर्य, बल, दानशीलता र ज्ञान प्राप्तिको कामना गर्दै संस्कृत मन्त्रबाट आशीर्वाद दिने परम्परा छ। महिलालाई दुर्गा देवीको स्वरूप मानेर देवीको स्तुतिसहित आशीर्वाद दिने चलन छ।
विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। नेपालका केही समुदायमा भने विजयादशमीकै दिन मात्र टीका लगाउने चलन छ। कतिपय समुदायले आफ्नो कुलपरम्पराअनुसार दहीमा मुछिएको अक्षताको सेतो टीका लगाउने गरेका छन्।












प्रतिक्रिया