महानवमीमा सप्तरीका दुई शक्तिपीठमा सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि हुने

सप्तरी, २ कात्तिक । बडादसैँको महानवमीका दिन सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ।

छिन्नमस्ता गाउँपालिका–३ सखडास्थित छिन्नमस्ता भगवती मन्दिर र हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कंकालिनी भगवती मन्दिरमा कात्तिक ३ गते पुष्पवृष्टि गर्न लागिएको हो।

छिन्नमस्ता भगवती मन्दिरका पीठाधीश महाकान्त ठाकुरका अनुसार महानवमीका दिन बिहान हेलिकप्टरबाट मन्दिरमा दर्शन गर्न आउने भक्तजनमाथि पुष्पवृष्टि गरिनेछ।

त्यस्तै, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले मंगलबार बिहान १० बजेदेखि महासंकल्प पूजा आयोजना गरिने र सोही क्रममा पुष्पवृष्टि गरिने जानकारी दिनुभयो।

नगरपालिकाले पुष्पवृष्टिका लागि हेलिकप्टर उपलब्ध गराइदिन असोज २३ गते प्रधानसेनापतिलाई पत्र पठाएको थियो। पुष्पवृष्टिका लागि आवश्यक फूलको व्यवस्थापन नगरपालिकाले नै गर्ने प्रमुख माझीले बताउनुभयो।

प्रकाशित मिति: २ कार्तिक २०८३, सोमबार  १३ : १२  बजे