पिङ संस्कृति जोगाउन तनहुँका युवा जुटे

तनहुँ, २ कात्तिक । दसैँ र तिहारमा गाउँघरमा पिङ हाल्ने र खेल्ने परम्परा हराउँदै जान थालेपछि तनहुँका युवा यसको संरक्षणमा जुटेका छन्। नयाँ पुस्तालाई मौलिक संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा युवा क्लबले लिङ्गे पिङ निर्माण गरेका छन्।

आधुनिक मनोरञ्जनका साधनको प्रयोग बढ्नु र पिङ बनाउन आवश्यक जनशक्तिको अभाव हुन थालेपछि परम्परागत पिङप्रतिको आकर्षण घट्दै गएको छ। यस्तो अवस्थामा युवा क्लबले आफ्नै पहलमा पिङ निर्माण गरेर पुरानो चलनलाई निरन्तरता दिने प्रयास गरेका हुन्।

भानु नगरपालिका–१२ घलेछापस्थित पुतलीचौरमा घलेछाप युवा क्लबको नेतृत्वमा लिङ्गे पिङ निर्माण गरिएको छ। लोप हुँदै गएको परम्परा जोगाउन र भावी पुस्तालाई यसको महत्त्व बुझाउन स्थानीयस्तरबाट स्रोत जुटाएर पिङ बनाइएको क्लबका अध्यक्ष कुशलचन्द्र अधिकारीले बताउनुभयो।

त्यस्तै, व्यास नगरपालिका–१२ कमलबारीस्थित एकता युवा क्लबले पनि १० हजार रुपैयाँ खर्च गरेर लिङ्गे पिङ निर्माण गरेको छ। नयाँ पुस्तालाई पिङ खेल्ने परम्पराको महत्त्व बुझाउने उद्देश्यले पिङ बनाइएको क्लबका अध्यक्ष ताराप्रसाद पन्थले बताउनुभयो। उहाँका अनुसार यसबाट विद्यार्थी, अभिभावक र समुदायका अन्य सदस्यलाई मौलिक संस्कृतिबारे जानकारी दिन सकिन्छ।

लिङ्गे पिङसँगै परम्परागत रोटे पिङसमेत लोप हुने अवस्थामा पुगेको छ। व्यास नगरपालिका–१० दुम्सीका शिक्षक श्रीकृष्ण आचार्यका अनुसार रोटे पिङ बनाउन बलियो सालको काठ, ठूला खम्बा, बाहा र फल्याक आवश्यक पर्छ। आवश्यक काठ जुटाउन, वन कार्यालयबाट अनुमति लिन र पिङ बनाउन जान्ने जनशक्ति पाउन कठिन हुँदै गएको उहाँले बताउनुभयो।

पहिले दसैँ लागेपछि गाउँका चोक र बस्तीमा बाबियोको लठ्ठा प्रयोग गरेर लिङ्गे पिङ बनाउने चलन थियो। रोटे र जाँते पिङ पनि गाउँघरका आकर्षणका केन्द्र हुन्थे। दसैँमा कम्तीमा एकपटक पिङ खेलेर धर्ती छाड्नुपर्छ भन्ने मान्यता पनि प्रचलित थियो।

आधुनिक मनोरञ्जनका साधनसँगै मौलिक खेल र संस्कृतिलाई पनि स्थान दिन सके पिङसँग जोडिएको दसैँको रौनक भावी पुस्तासम्म पुर्‍याउन सकिने घलेछाप युवा क्लबका अध्यक्ष अधिकारीले बताउनुभयो।

प्रकाशित मिति: २ कार्तिक २०८३, सोमबार  १३ : १०  बजे