दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन

काठमाडौं, २ कात्तिक । दसैँका बेला सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा सर्वसाधारणलाई हुने असुविधा कम गर्न सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकामा तीन दिन निःशुल्क बस सेवा सञ्चालन गरेको छ।

सर्वसाधारणको सहज आवतजावतका लागि दुईवटा बस सञ्चालन गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार बस सेवा लगातार तीन दिन बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुट्ने पहिलो बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै यात्रुलाई सेवा दिनेछ।

त्यस्तै, दोस्रो बसले प्रधान कार्यालयबाट सितापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ।

दसैँका बेला सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा सर्वसाधारणले भोग्नुपर्ने असुविधा कम गर्ने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको प्रवक्ता कार्कीले बताउनुभयो।

प्रकाशित मिति: २ कार्तिक २०८३, सोमबार  १३ : ०८  बजे