फर्पिङमा ७२ हजार ८० क्याप्सुल ट्रामाडोलसहित दुई जना पक्राउ

काठमाडौं, २ कात्तिक । काठमाडौंको फर्पिङबाट ७२ हजार ८० क्याप्सुल ट्रामाडोलसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार बिहान करिब ४ः३० बजे दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कमा चेकजाँच गर्ने क्रममा उक्त परिमाणको ट्रामाडोल बरामद गरिएको हो।

वीरगन्जबाट काठमाडौं आउँदै गरेको बा २० च ७५८८ नम्बरको कारको पछाडिको डिक्कीमा लुकाएर ल्याइएको अवस्थामा ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–२३ कोयरियाका २७ वर्षीय सुदीप पटेल र पर्साको वीरगन्ज महानगरपालिका–१७ अलौका २७ वर्षीय सुनिल सहनी रहेका छन्।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित मिति: २ कार्तिक २०८३, सोमबार  १३ : ०४  बजे