हामी प्रतिक्रियावादीसँग पञ्जा लडाउन तयार छौं : अध्यक्ष ओली

काठमाडौं, ३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्तालाई मनोबल दह्रो बनाएर अघि बढ्न आग्रह गर्नुभएको छ ।

संविधान दिवसका अवसरमा शनिबार ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उहाँले प्रतिक्रियावादीहरूले दबाब सिर्जना गर्दैमा पछि हट्न नहुने बताउनुभएको हो ।

‘संविधान दिवसको अवसरमा म साथीहरूलाई आग्रह गर्न चाहन्छु– मनोबल दह्रो बनाउनुस् । प्रतिक्रियावादीहरूले खुट्टा ढ्यापढ्याप गरे भन्दैमा भाग्ने होइन,’ ओलीले भन्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले प्रतिक्रियावादीसँग पञ्जा लडाउन एमाले तयार रहेको बताउनुभयो । पञ्जा लडाउँदा एमालेले विजय हासिल गर्ने उहाँको दाबी थियो ।

प्रतिगमनले केही समय जिते पनि अन्ततः सत्यको विजय हुने उहाँले बताउनुभयो । अहिले पनि एमालेविरुद्ध हमला भइरहेको दाबी गर्दै ओलीले आसन्न केन्द्रीय कमिटी बैठकले पार्टीलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्ने बताउनुभयो ।

‘अहिले पनि नेकपा एमालेका विरुद्ध हमला भइराखेको छ । पर्सीबाट केन्द्रीय कमिटीको बैठक सुरु हुँदैछ । अत्यन्तै सुदृढ एकताका साथ अगाडि बढ्ने छ,’ उहाँले भन्नुभयो ।

केन्द्रीय कमिटी बैठकले पार्टीभित्र देखिएका समस्याको उपयुक्त समाधान खोज्ने र अझ सक्रिय तथा उच्च मनोबलका साथ पार्टीलाई अघि बढाउने उहाँको भनाइ छ ।

ओलीले एमाले प्रतिक्रियावादीसँग लड्दै नेपालको निर्णय शक्तिका रूपमा पुनः स्थापित हुने जिकिर गर्नुभयो । एमाले कुनै पनि अवस्थामा समाप्त नहुने दाबी गर्दै उहाँले पार्टी नेपाली जनताको साँचो प्रतिनिधि शक्ति भएको बताउनुभयो ।

प्रकाशित मिति: ३ आश्विन २०८३, शनिबार  १२ : ३५  बजे