कैलाश मानसरोवर यात्रा सहज बनाउन ताक्लाकोटमा नेपाल–चीन छलफल

काठमाडौं, २ असोज । चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित पुलान काउन्टीको ताक्लाकोटमा नेपाल र चीनका सीमावर्ती अधिकारीबीच सीमा सुरक्षा बैठक सम्पन्न भएको छ ।

सेप्टेम्बर १४ देखि १७ तारिखसम्म भएको बैठकमा सीमा अपराध नियन्त्रण, व्यापार सहजीकरण, सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा कैलाश मानसरोवर यात्रा सहज बनाउने विषयमा छलफल भएको हो ।

पुलान काउन्टीको स्थानीय प्रशासनले आयोजना गरेको बैठकमा नेपालका तर्फबाट बझाङ र हुम्लाका सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधि सहभागी भएका थिए । दार्चुलाबाट भने सडक अवरुद्ध भएका कारण एक जना प्रतिनिधि मात्रै सहभागी हुन सकेका थिए ।

बैठकमा बझाङको सीमावर्ती क्षेत्रस्थित उरै नाका आधिकारिक रूपमा सञ्चालनमा ल्याउने विषयलाई नेपाली पक्षले प्राथमिकताका साथ उठाएको छ । उरै नाका कैलाश मानसरोवर जाने छोटो मार्गका रूपमा रहेको भन्दै नाका व्यवस्थित गरी स्थानीय बासिन्दाको आवतजावत, व्यापार तथा तीर्थयात्रीको यात्रा सहज बनाउनुपर्ने माग नेपाली पक्षले राखेको हो ।

साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराका अनुसार विगतमा जस्तै उरै नाकाबाट ताक्लाकोटसम्म सहज आवतजावतको व्यवस्था गर्न, सीमावर्ती बासिन्दाले भोग्दै आएका समस्या समाधान गर्न तथा पशुचौपाया चरिचरनसँग सम्बन्धित समस्या हटाउन चिनियाँ पक्षको ध्यानाकर्षण गराइएको छ ।

उहाँले नेपाली पक्षले उठाएका विषयमा चिनियाँ अधिकारीहरू सकारात्मक देखिएको बताउनुभएको छ ।

बैठकमा नेपाल–चीनबीचको परम्परागत व्यापारलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको थियो । सीमा नियन्त्रण तथा व्यापारिक सम्पर्कलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा दुवै पक्षबीच सहमति भएको जनाइएको छ ।

नेपाली पक्षले उठाएका विषयलाई माथिल्लो निकायमा छलफल गरी त्यसबारे जानकारी गराउने प्रतिबद्धता चिनियाँ अधिकारीहरूले जनाएका छन् ।

सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच समन्वय र सहकार्य थप मजबुत बनाउने तथा यस्ता बैठक नियमित रूपमा आयोजना गर्ने सहमति पनि भएको छ ।

प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार  १२ : ३९  बजे